दलित बस्तीमा खाद्यान्न अभाव

काठमाण्डु टुडे २०७१ असार १९ गते २:४० मा प्रकाशित

जाजरकोट, १९ असार– सदरमुकामदेखि ३२ कोस पूर्वस्थित भगवती गाविसको ४, बायाकाँडाको दलित बस्तीमा एक महिनादेखि खाद्य सङ्कट भएको छ ।

दलित समुदायको मात्र बसोबास रहेको बायकाँडामा खेतीयोग्य जमिन अभाव छ । चारैतिर पहाडले घेरिएको भिरालो पाखोबारीमा अन्न उत्पादन नहुँदा विपन्न समुदाय बर्सेनि खाद्य अभाव भोग्न बाध्य छन् । खाद्य संस्थानले चालु वर्षमा त्यस क्षेत्रमा ढुवानी कोटा सकिएकाले दलित बस्तीमा ढुवानी अनुदानको खाद्य पुर्‍याउन नसकिने बताएको छ ।
अहिले यहाँका ९२ घरधुरीका ५०० दलित खाद्यान्न अभावको मारमा परेका हुन् । उनीहरुको घरमा अन्नको दाना पनि छैन । वल्लोपल्लो गाउाका व्यापारीबाट मासिक पााच प्रतिशत ब्याज बुझाउने सर्तमा ऋण लिएर बजारको चामल किनेर जीवन निर्वाह गर्नु परेको स्थानीय तेजबहादुर विकले बताउनुभयो ।
गाउँमा खाद्य अभाव भएपछि बजारको मोटो चामल पनि प्रतिकिलो ७० मा किन्न उपभोक्ता बाध्य छन् । सरकारी अनुदानको चामल यहाँका बासिन्दाले चाख्न नै पाउँदैनन् । यहाँका बासिन्दा पाँच घण्टा हिँडेर चौकस्थित डिपोमा चामल लान जाँदा सधैं रित्तो हात फकिर्नुपरेको विकले गुनासो गरे ।

‘खाद्य संस्थानले डिपोमा पठाउने चामल बीचमै हराउँछ, गरिबले देख्नसमेत पाउन्नौं’,  विकले भने, ‘हुनेखाने र व्यापारीले एकमुष्ट किनिदिन्छन्, हामीले उनैसँग किन्नुपर्छ ।’ पाखोबारीमा लगाएको अन्नबालीले एक महिना पनि खान नपुग्ने र आम्दानीको अन्य स्रोत नहुँदा यस बस्तीको जीवन कष्टकर भएको कर्णबहादुर कामी बताए । उनले दलितहरु सरकारी सेवासुविधाबाट वञ्चित बन्दै आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us