वैवाहिक अंगीकृतको प्रावधान बिनै नागरिकता विधेयक ल्याइने

काठमाण्डु टुडे २०७९ असार २२ गते ७:१८ मा प्रकाशित

काठमाण्डु, २२ असार– सरकारले प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने तयारी थालेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएर नयाँ ल्याउने निर्णय गरेको हो ।
प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएसँगै नयाँ विधेयक दर्ताको तयारी भएको छ’, एक मन्त्रीले भने ।

संसद्मा दर्ता भएको नागरिकता विधेयकका लगभग सबै विषय टुंगिए पनि वैवाहिक अङ्गीकृत नागरिकता पाउने अवधिबारे कांग्रेस र मधेसवादी दलबीच फरक धारणा छ ।

एमाले स्थायी कमिटी सदस्य एवं सांसद विजय सुब्बाले नागरिकता विधेयकमा बुहारीले नागरिकता पाउने प्रावधानको विषयमा मतभिन्नता रहेकाले सरकारले विधेयक फिर्ता लिएको आशंका गरे ।

‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा ७ वर्षे प्रावधान राखिएको छ । त्यो विषयमा भारत रिसाउँछ कि भन्ने डर कांग्रेसलाई छ, त्यही डर हटाउन सो प्रावधान झिकेर नयाँ विधेयक पेस गर्न अहिलेको विधेयक फिर्ता गरेको हुनसक्छ’, सुब्बाले भने । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us