झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले सम्झिए कुलमान

काठमाण्डु टुडे २०८२ जेठ १ गते २१:२३ मा प्रकाशित

काठमाण्डू, १ जेठ काठमाण्डू उपत्यकामा बिहीबार लोडसेडिङको झल्को दिने गरी पटकपटक बिजुली गएको छ ।

पटकपटक बत्ती आउने र जाने भएपछि उपत्यकाबासी अवाक भए । सामाजिक सञ्जाल प्रयोगकर्ताले झ्यापझ्याप बत्ती जानुको कारणबारे सरकारसँग जवाफ मागेका छन् ।

सरकारले अघोषित रुपमा लोडसेडिङ गराएको आरोप उनीहरुले लगाएका छन् । कतिपयले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइएका कारण लोडसेडिङ भएको समेत भन्न भ्याएका छन् ।

काठमाण्डू उपत्यकाका तीन जिल्लासहित देशभरका मुख्य सहरमा बिजुली आउनेजाने समस्या देखिएको धेरै दिन भइसक्यो ।

प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले देशभर नै बत्ती जाने समस्या रहेको बताए । भारतमा उत्पन्न समस्याका कारण नेपालमा विद्युत आपूर्ति प्रभावित भएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us