काठमाण्डु, १८ असार– नेपाल पत्रकार महासंघले आफ्ना तीन जना केन्द्रीय सदस्य, काठमाण्डु, ललितपुर र भक्तपुरका अध्यक्षसहित ४५ पत्रकारलाई पक्राउ गरी सात
घण्टासम्म प्रहरी नियन्त्रणमा राखिएकामा खेद प्रकट गरेको छ ।
महासचिव उजीर मगरद्वारा बुधबार विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा जायज माग राखेर धर्नामा बसेका पत्रकारलाई पक्राउ गरी थुनामा राखिएको भन्दै खेद व्यक्त गरेको हो ।
गत साउनदेखि लागू हुने गरी लोककल्याणकारी विज्ञापनवापतको २५ प्रतिशत वृद्धि रकम भुक्तानीको माग गर्दै अर्थ मन्त्रालयमा धर्ना बसेका महासङ्घका केन्द्रीय सदस्यत्रय ईश्वरी वाग्ले, रामहरि सिलवाल र राजु लामालगायत काठमाण्डु, ललितपुर र भक्तपुरका अध्यक्षसहित ४५ पत्रकारलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।
महासंघ अध्यक्ष महेन्द्र विष्ट, महासचिव मगर र सचिव सङ्गीता खड्कालगायतको टोलीले मंगलबारै सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र अर्थमन्त्री रामशरण महतसँग भेटी उक्त रकम भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेको थियो ।
विज्ञप्तिमा विज्ञापनवापतको वृद्धि रकम भक्तानीका विषयमा सञ्चारमन्त्री र अर्थ मन्त्रीले सकारात्मक धारणा व्यक्त गरेको भन्दै तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।