काठमाण्डु, १८ असार– एमाले नेता एवम् संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भीम आचार्यले सबैलाई मिलाएर पार्टीलाई अघि बढाउन सक्ने नेता भएकाले
झलनाथ खनालको विकल्प नरहेको बताएका छन् ।
रिपोर्टर्स क्लबले बुधबार गरेको साक्षात्कारमा आचार्यले नेतृत्वको विषयलाई लिएर एकअर्काप्रति हिलो छ्याप्ने कामले पार्टीलाई ५४ सालकै विभाजनको अवस्थामा पुर्याउन खोजिएको उल्लेख गर्दै त्यसबाट बचाउन खनालको नेतृत्व आवश्यक रहेको तर्क गरे ।
अध्यक्षका प्रत्यासी माधव नेपाल र केपी शर्मा ओली दुवै अन्तिम समयमा खनालकै पक्षमा उभिने दाबी गरे । ‘०५४ सालमा एमाले फुट्दा राजा, माओवादीले शिर उठाउने मौका पाए, त्यसैले सबैलाई मिलाउन सक्ने नेताका रुपमा रहेका झलनाथ खनाललाई अध्यक्ष बनाउनुको विकल्प छैन’, आचार्यले भने, ‘अन्तिममा माधवकुमार नेपाल र केपी ओलीले उहाालाई अध्यक्ष बनाउनु हुन्छ ।’
युवा नेता घनश्याम भुषालले अबको विचार राजनीति नभई सामाजिक आर्थिक रुपान्तरण गर्ने सिद्धान्त हुने भएकोले त्यसलाई कुनै गुटले अघि बढाउन नसक्ने दाबी गरे । उनले विचार र नेतृत्वको तारतम्य नमिले पार्टी ध्वस्त हुने चेतावनी दिँदै केपी ओली समूहले विचारको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे । भुषालले अहिलेको अवस्थामा सबैलाई मिलाएर अघि बढ्न सक्ने नेता नेपाल मात्र भएको दाबी समेत गरे ।
उनले अहिलेसम्मको सैद्धान्तिक र वैचारिक बहसले नेपालको औचित्य पुष्टि गरिसकेको दाबी गर्दे उनले १८ वर्ष नेतृत्व गरेको ब्यक्ति भनेर नेपालको आलोचना गर्ने कुरा मासलाई भड्काउने कुरा मात्र भएको बताए ।
नेपालले नवौं महाधिवेशनबाट ३६ सालको पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएकाले एमालेमा नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु भएको बताए ।
ओली समूहबाट सचिवका प्रत्यासीसमेत रहेका नेता रघुवीर महासेठले माधव नेपाल यथास्थितिवादी भिजन र मिसन नभएको नेता भएकाले केपी ओलीको विकल्प नभएको दाबी गरे । नेपाल नेतृत्वमा आए पार्टी अघि नबढ्ने बरु विध्वशंको बाटोमा अघि जाने चेतावनी दिए ।
‘माधव नेपाल परम्परागत नेतृत्वकर्ता हो, उहाँले अहिलेको अवस्थामा पार्टी हाक्न सक्नुहुन्न’, महासेठले भने, ‘अब उहाँले सक्रिय राजनीतिबाट बिदा लिँदा उपयुक्त हुन्छ ।’