मकवानपुर, असार १८– एकीकृत माओवादी मकवानपुरमा असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षले समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ ।

पदाधिकारी चयनमा विवाद भएपछि भट्टराई पक्षले पूर्वसभासद् प्रल्हाद लामिछानेको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेको हो ।
संस्थापन पक्षको नेतृत्व भने पूर्वसभासद प्रेमबहादुर पुलामीले गरेका छन् । दुवै पक्षले बुधबार हेटौंडामा बेग्लाबेग्लै पत्रकार सम्मेलन गरी आफू आधिकारिक भएको दाबी गरेका छन् । संस्थापन पक्षको अध्यक्षमा पुलामी, उपाध्यक्ष बलराम बल, सचिव सर्केश घलान, सह–सचिवमा प्रकाश पाण्डे र कोषाध्यक्षमा मीना पाख्रिन छन् ।
यस्तै भट्टराई पक्षको अध्यक्षमा लामिछाने, उपाध्यक्षमा विवेक वाइवा, सचिवमा ज्योति रायमाझी र कोषाध्यक्षमा पुनम भट्टराई छन् । विराटनगर महाधिवेशनअघि गत वैशाखमा ३८ सदस्यीय जिल्ला कमिटी चयन भए पनि विवादकै कारण पदाधिकारी चयन हुन सकेको थिएन ।
पत्रकार सम्मेलनमा संस्थापन पक्षीय अध्यक्ष पुलामीले आफूहरु आधिकारिक भएको बताए । जिल्ला कमिटीका २६ जनाको समर्थन आफूलाई रहेको उनले बताए । लामिछानेले भने आफूहरुलाई बाइसाप गरेर जान खोजिएकाले समानान्तर कमिटी गठन भएको बताए ।