सगरमाथाको आधार शिविर सार्ने तयारी

काठमाण्डु टुडे २०७९ असार ४ गते ७:०६ मा प्रकाशित

काठमाण्डु, ४ असार– जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ ।
पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

जलवायु परिर्वतनसंँगै बढ्दो मानवीय गतिविधिका कारण हिमपहिरो आउने, हिमताल फुट्ने, हिमाली जैविक विविधता मासिने जस्ता कुरालाई दृष्टिगत गरी पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर सार्ने तयारी भइरहेको छ ।पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार आधार शिविर सार्नेबारे सम्भावना र सुरक्षा चुनौतीलाई आधार मानेर प्रारम्भिक अध्ययनतर्फ सरकारले ध्यान दिएको छ ।

खुम्बु क्षेत्र समन्वय समितिले स्थलगत अध्ययन र अवलोकनपछि आधार शिविर सार्नेबारे पर्यटन विभागलाई सुझाएको छ । समितिले अबको दुई साताभित्र कति मिटर तल बेस क्याम्प सार्ने भन्नेबारे प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोही प्रतिवेदनको आधारमा बाह्रैमास हिउँ नपर्ने ठाउँमा नयाँ आधार शिविर राख्ने सम्बन्धित सबै पक्षसँग परामर्श गरिने भएको छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us