काठमाण्डु, १७ असार– प्रहरीले अर्थ मन्त्रालयमा धर्नामा बसेका ६० पत्रकारलाई पक्राउ गरेको छ ।
साना लगानीका पत्रपत्रिकाकाले पाउनुपर्ने लोकल्याणकारी विज्ञापन बापतको २५ प्रतिशत रकम उपलब्ध गराउन माग गर्दै धर्नामा बसेका पत्रकारलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
सरकारले गत वर्ष विज्ञापनमा २५ प्रतशित वृद्धि गरे पनि अर्थ मन्त्रालयले रकम निकाशा गर्न आनाकानी गरेको भनाइ महासंघको छ । यस्तै उनीहरुले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न र सरकारले नागरिकको मौलिक अधिकार कुण्ठित हुने गरी हालै संसदमा प्रस्तुत गरेको अदालतको अपहेलनासम्बन्धी विधेयक फिर्ता लिन पनि माग गरेका छन् ।
यसैबीच पत्रकारहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष खिलबहादुर भण्डारी र उजिर मगर पत्रकारहरुलाई राखिएको प्रहरी चौकीमा पुगेका छन् ।
महासंघले जायज माग राखेर शान्तिपूर्ण धर्नामा बसेका पत्रकारमाथि भएको दुव्र्यबहार र पक्राउको विरोध गरेको छ । ‘आफूलाई लोकतान्त्रिक दाबी सरकारले जायज माग राखेर शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई पक्राउ गर्नु भत्र्सनायोग्य छ’, उपाध्यक्ष भण्डारीले भने, ‘पत्रकारको मागमा महासंघ ऐक्यबद्धता जनाउँछ ।’
यता पत्रकारहरुले भने माग पूरा नभएसम्म प्रहरी चौकीभित्रै भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । महासंघ ललितपुर अध्यक्ष लेखनाथ न्यौपानेले माग पूरा गर्नुको साटो सरकारले गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेकाले थप सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।
प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले मंगलबार नै विज्ञप्ती जारी गदै पक्राउ पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेका छन् । उनले आन्दोलित पत्रकारका मागमा गम्भीर हुन सरकारको ध्यानकर्षण गराएका छन् ।