काठमाण्डु १६ असार – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अध्यक्ष नभए पार्टी संकटमा फस्ने बताएका छन् ।
उनले पार्टीेमा सही विचार र सिद्धान्त बोक्नेहरु नेतृत्वमा आउनुपर्ने बताए । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका अवसरमा महाधिवेशन जनजाति प्रतिनिधिसँगको भेटघाटमा नेपालले सही विचार बोक्नेहरुलाई पार्टी नेतृत्वमा ल्याउन नसके पार्टीको भविष्य सङ्कटमा पर्ने बताए ।
एमाले महाधिवेशनका अध्यक्षका उम्मेदवारसमेत रहेका नेता नेपालले भने‘पार्टीमा गलत विचार भोग्नेहरु पनि छन्, उनीहरुको हातमा पार्टीको नेतृत्व परेमा पार्टीको भविष्य खतम हुन्छ ।’
नेपालले पार्टीमा गलत विचार बोक्नेहरु केही क्षणिक समयका लागि पार्टीका टिकिरहे पनि लामो समयसम्म टिकेर उकालो लाग्न नसक्ने जिकिर गरे ।
पूर्वप्रधानमन्त्री नेपालले सबै जातिलाई समान अवसरका निम्ति जनजातिभित्र पनि वर्गीकरण हुनुपर्छ भन्दै उच्च र पछाडि परेका जनजातिलाई एउटै समूहमा राख्दा न्यायोचित नहुने बताए ।
नेपालले विद्यमान जातीय विभेद अन्त्य गर्न समावेशी नीतिको आवश्यकता रहेको बताउँदै त्यसका लागि वैज्ञानिक व्यवस्थापनको खाँचो छ भने ।