काठमाण्डु ,१६ असार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य लाभको कामना गरेका छन् ।
मोदीले एक सन्देश पठाउँदै स्वास्थ्योपचारको क्रममा संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
प्रधानमन्त्रीका सञ्चार संयोजक प्रकाश अधिकारीका अनुसार उनले सन्देशमा प्रधानमन्त्री कोइरालाको पूर्ण स्वास्थ्यलाभ एवम् चाँडो सक्रिय राजनीतिक जीवनमा फर्कने प्रेरणा मिलोस् भन्ने अपेक्षा गरेका छन् ।
नेपाल र भारतबीच शदिऔंदेखि सहअस्तित्व,भ्रातृत्व र गहिरो एवम् विशिष्ठ प्रकारको मैत्री सम्बन्ध रहेकोमा जोड दिदै मोदीले हिमालय पर्वत,नदी नाला र परम्परागत रीतिरिवाजमा भएको समानताका कारण पनि दुइ देशबीचको सम्बन्ध थप मौलिक रहेको स्पष्ट पारेका छन् ।
दुई देशबीच रहेको खुला सिमानाका कारण पनि एक अर्काप्रति विश्वास र समझदारी गहिरो रहेकोमा जोड दिदै भारतीय प्रधानमन्त्री मोदीले गत महिना आफ्नो पद तथा गोपनियताको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री कोइरालाको गौरवमय उपस्थितिले पनि सो सम्बन्धमा थप टेवा पुगेको उल्लेख गरेका छन् ।
मोदीले सन्देशमा भनेका छन् ‘ अन्य नेताहरुसँगै यहाँको सहभागिताले यस क्षेत्रको प्रजातन्त्रको सुदृढीकरणमा थप बल पुगेको छ भन्ने मलाई लागेको छ ।’
प्रधानमन्त्री कोइराला फोक्सोमा क्यान्सर देखिएपछि हाल अमेरिकाको न्युयोर्कस्थित सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचार गराइ गराइरहेका छन् ।