काठमाण्डु, १५ असार– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आसन्न नवौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले आफ्नो प्यानललाई सघाउने खुलासा गरेका छन् ।
काठमाण्डुमा आइतबार भएको पत्रकार सम्मेलनमा नेता नेपालले विचार र प्रवृत्तिका हिसाबले खनाल आफूसँग रहेको बताएका हुन् । आफूहरुको विचारको नेतृत्व अध्यक्ष खनालले नै गरिरहेको उनको भनाइ थियो ।
यद्पि उनले अध्यक्ष खनाललाई आदरणीय भनेका उनले सिंगो पार्टीका अभिभावकलाई विवादमा पर्ने काम कतैबाट गर्न नहुने उल्लेख गरे । ‘अध्यक्ष कमरेड सिंगो पार्टीका अभिभावक हुनुहुन्छ’, नेपालले भने, ‘उहाँलाई यता र उता तान्ने र लतार्ने काम नगरौं ।’
उनले अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली पक्षले राज्य शक्तिको दुरुपयोग गर्ने सक्ने आरोप लगाए । नेपालले राज्य शक्तिको दुरुपयोग भए आफूलाई सह्य नहुने चेतावनी दिए ।
उनले राज्य शक्तिको दुरुपयोग भए प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशनसमेत दिए । नेपालले विचारद्वारा सचेत कार्यकर्ता महाधिवेशन प्रतिनिधिमा चयन भएर आएकाले कसैको लोभ, लालच, डर, त्रास र धाकधम्कीका अगाडि नडराउने उल्लेख गरे ।
‘महाधिवेशनमा राज्य सत्ताको दुरुपयोग नगर्नुस, ओली पक्षतर्फ लक्षित गर्दै नेपालले भने, ‘त्यसो गर्नुभयो भने नांगिनुहुनेछ, गन्हाउनुहुनेछ ।’ नेपालले महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा बहुमत रहेको भन्दै तथ्याङ्क भने सार्वजनिक नगर्ने जनाए ।
पार्टीलाई गतिशील, क्रान्तिकारी र सशक्त बनाउन आफ्नो नेतृत्व चाहिएको दाबी उनको थियो । ‘माधव नेपाल आँकडा भनेर हिंड्दैन’, नेपालले भने, ‘यतिमात्र भन्छु उत्साहपूर्ण नतिजा आएको छ ।’