छोरी बलात्कार गर्ने प्रहरी हवल्दारलाई १५ वर्ष कैद

काठमाण्डु टुडे २०७१ असार १४ गते १२:२७ मा प्रकाशित

दोलखा, १४ असार – दोलखा जिल्ला अदालतले छोरी बलात्कार गर्ने बाबुलाई १५ वर्ष कैद सजाय सुनाएको छ ।
छोरीलाई दुई वर्षसम्म बलात्कार गर्ने दोलखा स्थायी घर भएका ३७ वर्षीय प्रहरी हवल्दार पदमबहादुर तामाङलाई अदालतले कैदसहित पीडकलाई एक लाख २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार ध्रुव आचार्यले तामाङले जबरजस्ती करणीमा ५ वर्ष र हाडनाता करणीमा १० वर्ष गरी १५ बर्ष कैद भुक्तान गर्नुपर्ने जानकारी दिए ।
तामाङले आफ्नै १४ वर्षकी छोरीलाई पटकपटक बलात्कार गर्दै आएका थिए ।

किशोरीले आफू बाबुद्वारा पटकपटक यौन शिकार हुँदै आएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा छोरीले लुगा खोलेको देखेपछि बलात्कार गरेको बयान दिएका उनले अदालतमा बयान फेरेका थिए । तर  मेडिकल रिपोर्ट, पीडितको बयान र प्राप्त प्रमाणहरुका आधारमा उनी दोषी ठहर भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us