काठमाण्डु, १४ असार– मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स चरम आर्थिक संकटमा गुज्रिएका छन् । अस्पतालको आम्दानी घटेको र सरकारले दिने अनुदान पनि घटाएकाले संकटको अवस्था आएको हो ।
पछिल्लो समय आर्थिक संकटकै कारण वीरमा चिकित्सक र कर्मचारीले वैशाखदेखि तलवसमेत नपाएका आजको नागरिक दैनिकले समाचार छापेको छ ।
अस्पतालले तत्काल संकट टार्न उपकरण खरिदका लागि दिएको सशर्त पूँजीगत अनुदानबाट ऋण सापटी लिएर वैशाखको तलव खुवाउनुपर्ने अवस्था आएको निर्देशक डा.बुलन्द थापाले बताए ।
सुरुको चरणमा स्थायी कर्मचारीलाई मात्रै तलव दिने भनेपछि अस्पतालका अस्थायी, करार र ज्यालादारी कर्मचारी आइतबारदेखि आकस्मिक बाहेक सेवाका काम नगर्ने चेतावनी दिएको डा थापाले बताए । अस्पताल लेखा अधिकृत नवराज कोइरालाका अनुसार संकटकै कारण अस्पतालले माघ देखि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र करकट्टी रकमसेमत पठाएको छैन । वीरमा अधिकांश शैया, परीक्षण र अन्य सेवा निशुल्क हुँदा आम्दानी न्यून छ ।