
काठमाण्डु, १३ असार– एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा चार जना पत्रकारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
‘बुधबार’ साप्ताहिकका सम्पादक/प्रकाशक विष्णु रिजालले वैकल्पिक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
एमाले राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यसमेत रहेका रिजाल माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीका सल्लाहकार थिए । पार्टी नेतृत्वमा गतिशील युवाको उपस्थिति बढाउन तथा युवा आवाज सम्बोधन गर्न आफूले उम्मेदवारी दिन लागेको रिजालले बताए । प्रचार विभाग सचिव सूर्य थापाले यसअघि नै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यस्तै प्रेस चौतारीका पूर्वअध्यक्ष गगन विष्ट र सम्बोधन साप्ताहिकका प्रधानसम्पादक एवम् एमाले काभ्रे अध्यक्ष गोकुल बाँस्कोटाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।