काठमाण्डु, १२ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि दिएको निर्देशन अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले आज मुख्य सचिव लीलामणि पौड्याल र मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी भ्रष्टाचार नियन्त्रणका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिई तत्काल कार्यान्वयन गर्न अनुरोध गरेको हो ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि आयोगले गरेको प्रयासको उचित कार्यान्वयन हुन नसक्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले आज पुनः सरकारलाई सचेत गराइएको हो ।
आयोगले मुख्य सचिवमार्फत सरकारलाई बैंक तथा वित्तीय संस्था, बिमासम्बन्धी कारोबारमा संलग्न निकाय र त्यसमा कार्यरत व्यक्तिहरुलाई कारबाहीका लागि गरेको आग्रह अक्षरशः कार्यान्वयन गर्न आग्रह गरिएको हो ।
आफ्नो निर्देशनको प्रभावकारी कार्यान्वयन नभएको भन्दै आयोगले जनतासँग प्रत्यक्ष सरोकार राख्ने समसामयिक सार्वजनिक महत्वका विषयहरुमा नेपाल सरकारले नै सक्रिय रुपमा समुचित ध्यान दिई कार्य गर्दै जानुपर्ने विषयमा पुनः ध्यानाकर्षण गराएको हो ।