
काठमाण्डु, १२ असार – इन्टरनेटको डोमेन (डट जिओभी, डट ओआरजी आदि नाम) नाम र नम्बरको दर्ता व्यवस्थापन अब आइक्यान (इन्टरनेट कर्पाेरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स) संस्थाले गर्ने भएको छ ।
सञ्चार र इन्टरनेटसम्बन्धी आइक्यानको संयुक्त अधिराज्यमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो जानकारी गराएका हुन् ।
हालसम्म इन्टरनेटको डोमेन नाम र नम्बर दर्ताको व्यवस्थापन संयुक्त राज्य अमेरिकाको सरकारले गर्दै आएको थियो ।
आइक्यानले इन्टरनेटको डोमेन व्यवस्थापनको सम्पूर्ण कार्य गरिनसकेको सङ्क्रमणकालीन अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा सम्मेलन आयोजना गरिएको नेपालको प्रतिनिधिका रुपमा भाग लिनुभएका मन्त्री डा. रिजालले बताए ।
सम्मेलनका क्रममा संयुक्त अधिराज्यमा रहँदा मन्त्री डा. रिजालले सन् २०१६ मा नेपाल–बेलायतको दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुग्ने अवसरमा त्यहाँका प्रतिनिधिहरुसँग कुराकानी भएको जानकारी दिए ।
उनले भने– “नेपालको विकासमा ठूलो सहयोग गर्ने बेलायती सरकार र डिएफआइडीका प्रतिनिधि एवम् नेपाल–बेलायतको दौत्य सम्बन्ध दुई सय वर्ष पुग्न लागेको अवसरमा नेपालमा आउने बेलायती संसद्हरुको टोलीसँग दुईपक्षीय हितका बारेमा कुराकानी भयो ।”
सञ्चारकर्मीको एक फरक जिज्ञासामा मन्त्री डा. रिजालले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रधानमन्त्री आउन नसक्दाका अवस्थामा उहाँकै अनुमतिमा निर्धारित समयमै आउने र त्यसमा सत्ता साझेदार दलहरुबीच कुनै विवाद नरहने विश्वास दिलाए ।
सम्मेलनमा भाग लिन मन्त्री डा. रिजाल शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए ।