काठमाण्डु, २६ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिप्रक्रियामा आफूले खेलेको भूमिकाको अवमूल्यन गरेको गुनासो गरेका छन् ।
काठमाण्डुको बुद्धनगरमा सोमबार आयोजित कार्यक्रममा नेपालले आफ्नो भूमिकाको मूल्याङ्कन नभएको बताएका हुन् । तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
‘गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीलाई एक ठाउँमा ल्याउन मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको थिएँ, नेपालले भने, ‘तर प्रचण्डजीले मेरो भूमिकाको अवमूल्यन गरिरहनुभएको छ ।’
प्रचण्डले बारम्बार गरिजाप्रसाद कोइराला र आफूले शान्तिप्रक्रिया आरम्भ गरेको भन्ने गरेको चर्चा गर्दै नेपालले प्रश्न गरे, ‘त्यतिबेला माधव नेपाल चाहिं कहाँ थियो ?’ नेपालले रोल्पामा रहेका प्रचण्ड र काठमाण्डुमा रहेका कोइरालालाई आफूले दिल्ली पुर्याएको दाबी गरे ।
‘रोल्पामा रहेका प्रचण्ड र काठमाण्डुमा रहेका गिरिजाप्रसादलाई दिल्ली पुर्याउने काम माधव नेपालले गरेको हो’, उनले भने, इतिहासका सबै पक्षले निभाएको भूमिकाको सही मूल्यांकन हुनुपर्छ ।’