
काठमाण्डु, ११ फागुन– नेपाली काँग्रेसले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।
सभापति शेरबहादुर देउवाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अदालतको फैसलाको स्वागत गरेका हुन् । विज्ञप्तिमा देउवाले आफूले पटकपटक अदालतको फैसला स्वीकार गर्ने बताउँदै आएको स्मरण पनि गरे ।
उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओली सरकारको कदमलाई काँग्रेसले सुरुदेखि नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भनेको पनि उल्लेख गरेका छन् ।
‘२०७७ साल पुस ५ गते प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली काँग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो’, सर्वोच्चको फैसलालाई हार्दिक स्वागत शीर्षकमा विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘नेपाली काँग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो । नेपाली काँग्रेस विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’