
काठमाण्डु, २७ वैशाख – विगत पाँच वर्षदेखि प्रयोगमा आएको नेपाली गीत सङ्गीतको डिजिटल व्यवसाय मानिने कलर रिङ व्याक टोन अर्थात् सिआरविटीको प्रयोग खस्कँदो देखिएको छ ।
एउटा मोबाइलबाट अर्कोमा फोन गर्दा सुनिने गीत नै सिआरविटी हो । नेपाल टेलिकमका लागि ठूलो आम्दानीको स्रोत नभएपनि सङ्गीतकर्मीका लागि व्यवसाय नै बनिसकेको यो प्रविधि व्यवस्थित हुन नसकेका कारण बजार खस्केको स्रष्टाहरू बताउँछन् ।
व्यवसायीहरू टेलिकमको नेटवर्कमा गडबडी र अव्यवस्थापनका कारण सिआरबिटीको प्रयोगमा कमी आएको जनाउँछन् । तर टेलिकमका अधिकारीहरू समाजमा नयाँनयाँ प्रयोग हुँदा चासो हुने र पुरानो बन्दै गएपछि पछ्याउने क्रम कम हुने भएकाले सिआरबिटी घटेको हुनसक्ने जनाउँछन् ।
रोयल्टी सङ्कलन समाजजस्ता संस्था सिआरविटीबाट आउने रोयल्टी सिधै पाउनुपर्ने माग गर्दै टेलिकममा दबाब दिन गएपछि सङ्गीत उत्पादक र सर्जकबीचको विवाद पनि देखिएको छ । सिआरविटी सुरु हँुदा बजारमा चलेका गीत दैनिक तीन हजारसम्म डाउनलोड हुने गर्दथ्यो । अहिले दैनिक दुई हजारको हाराहारीमा रहेको मानिन्छ ।
नेपाल टेलिकमका सूचना शाखा प्रमुख लक्ष्मण अधिकारी सिआरबिटीको स्रोता र प्रयोगकर्तामा यस संस्कार प्रतिको आकर्षण घटेकाले प्रयोगकर्ता घटेको हुनसक्ने बताउँछन् । विन्ध्यबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी सिआरविटीको बजार खासै बिग्रिएको छैन, तर टेलिकमले प्रविधिमा सुधार नगर्दा समस्या आएको बताए ।
नेपाल टेलिकमले वितरित कूल मोवाइल सङ्ख्यामध्ये जम्मा २० लाख ग्राहकले यो सुविधा पाउने गरी सिआरविटी सेवा सुरु गरेको थियो । २० लाखबाट थप नगरेका कारण पनि सिआरविटीको बजार घटेको दाबी रेग्मीको छ । सिआरविटीमा ४० सेकेन्ड मात्रै गीत सुन्न सकिने हुन्छ ।
पुरै गीत सुन्न चाहनेको सङ्ख्या बढेकाले पनि सिआरविटीको प्रयोग घटेको हुनसक्ने आशिष म्युजिकका सञ्चालक रामजी पन्तले बताए । सङ्गीत उत्पादक समाजका अध्यक्ष पदमबहादुर बुढाले नयाँ प्रविधिअनुसार टेलिकम अपडेट नभएकाले आफूहरूलाई मार पारेको जानकारी दिए ।
सिआरविटीमा गीत दर्ता गर्ने र आर्थिक कारोबार गरिदिने आधा दर्जन मध्यस्तकर्ता अथवा ‘एग्रिकेटर’ रहेको मानिन्छ ।