विराटनगर, २४ वैशाख– वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले एक साताभित्रै २६ सभासद् मनोनयन हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले सभासद् मनोनयन प्रक्रिया अन्तिम चरणमा पुगेको र एक हप्ताभित्रै संविधानसभाले पूर्णता: पाउने उल्लेख गरे ।
मन्त्री आचार्यले वर्तमान सरकारले संविधान निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेकाले राजनीतिक नियुक्तिमा ढिलाइ भएको दाबी गरे । सत्ता साझेदार दलहरुको सहमतिमा केही दिनभित्रै रिक्त पदहरुमा राजनीतिक नियुक्ति गरिने उनको भनाइ थियो ।
सञ्चारकर्मीको एक जिज्ञाशामा मन्त्री आचार्यले सरकारले गति लिन नसकेको भन्ने टिप्पणीको खण्डन गरे । सरकारका काम कारबाहीबारे टिकाटिप्पणी गर्न छाडेर संविधान निर्माणमा सघाउन आचार्यले आग्रह गरे ।
आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्न सरकार प्रतिबद्ध भएर लागिपरेको दाबी उनको थियो । उनले स्थानीय निकाय निर्वाचनका लागि दलहरुबीच सहमति प्रयास भइरहेको बताए ।