प्रहरी हिरासतमा युवाको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ ३० गते १६:५२ मा प्रकाशित

सुर्खेत- चोरी मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्स रहेका छन् ।

मोबाइल चोरीको आरोपमा पक्राउ परेका उनी जेठ २७ गतेदेखि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहराका अनुसार हिरासतमा रहेका क्रममा बक्सको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बिहान करिब ४ः३० बजे उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ लगिएको थियो ।

तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बक्सविरुद्ध चोरी मुद्दामा अनुसन्धान जारी रहेको थियो र बुधबार मात्रै अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।
मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक चिकित्सक आउने तयारी भइरहेको र पोस्टमार्टम प्रतिवेदन आएपछि मात्र मृत्युको वास्तविक कारणबारे थप जानकारी प्राप्त हुने डीएसपी बोहराले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us