कोशीका कानुनमन्त्री पराजुली निवासमा मध्यराति प्रहरीको छापा

काठमाण्डु टुडे २०८३ असार ५ गते १३:२८ मा प्रकाशित

काठमाण्डू, ५ असार– प्रहरीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वाटरमा बिहीबार मध्यरातमा छापा मारेको छ ।

विराटनगर–३, ल क्याम्पसनजिकै रहेको मन्त्रीको निवासमा राति ११ बजेतिर प्रहरी टोली पुगेको थियो । मन्त्रीको सचिवालयका अनुसार राति पर्खाल नाघेर प्रहरी भित्र छिरेको हो ।

प्रहरी पुग्दा मन्त्री भने घरमा नरहेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकार युवराज कटेल अनुसार, कर्तव्य ज्यान मुद्दाका एक पुराना फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त निवासमा पुगेको हो । तर, त्यहाँ पुगेको प्रहरीले मन्त्रीको क्वार्टर भन्ने जानकारी नपाएको उनले दाबी गरे ।

‘एकजना हत्याका अभियुक्त पहिले सोही घरमा कोठा भाडामा लिएर बस्ने सूचना थियो । लुकिछिपेको हुनसक्ने भन्दै प्रहरी टोली रेकी गर्न पुगेको थियो,’ सीडीओ कटेलले भने, ‘अपरेसनमा खटिएको टोलीलाई उक्त घर मन्त्रीको निवास भएको बारे पूर्वजानकारी थिएन ।’ उनले प्रहरी मन्त्रीलक्षित कारबाहीको लागि त्यहाँ नपुगेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us