रास्वपाको महिला उपसभापतिमा बलियो प्रतिस्पर्धा

काठमाण्डु टुडे २०८३ असार ७ गते १४:१४ मा प्रकाशित

काठमाण्डू, ७ असार– नीति र नेतृत्व चयन गर्नेगरी सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ ।

तीन दिनको कार्यतालिका तय गरिएको महाधिवेशनमा राजनीतिक, सांगठानिक, विधान लगायत प्रतिवेदन प्रस्तुत हुँदैछ । यसपछि महाधिवेशन नेतृत्व चयन गर्ने कार्यसूचीमा प्रवेश गर्नेछ ।

यो महाधिवेशनले रवि लामिछानेलाई नै सभापतिमा निरन्तरता दिने लगभग पक्का जस्तै छ । शीर्ष नेताहरू महत्वपूर्ण राजकीय भूमिकामा रहेकाले रविलाई निर्विरोध सभापति घोषणा गरिनेमा कुनै शंका छैन । उपसभापति डा. स्वर्णिम वाग्ले सरकारमा अर्थमन्त्री छन् ।

उनलाई पनि एक उपसभापतिमा निर्विरोध गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहलाई बरिष्ठ नेताको स्थान पक्का गरिएको छ । यो पदलाई निर्वाचन प्रक्रियामै सामेल नगराउने तयारी भइरहेको छ । बाँकी पदहरूमा प्रतिस्पर्धा हुने देखिन्छ । रास्वपाको संशोधित विधान बमोजिम एक महिलासहित तीन उपसभापति रहनेछन् ।

अर्थमन्त्री वाग्लेको स्थान सुरक्षित गरिँदा अर्का एक खुला उपसभापतिमा प्रतिस्पर्धा हुनेछ । यो पदमा तीन जना त मन्त्रीहरू नै आकांक्षी छन् । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुनिल लम्साल र परराष्ट्रमन्त्री शिशिर खनालले आकांक्षा राखेका छन् ।

स्रोतका अनुसार उपसभापतिकै चाहनामा प्रधानमन्त्रीका सल्लाहकार असिम साह पनि छन् । योभन्दा चर्को प्रतिस्पर्धा महिला उपसभापति पदमा देखिन्छ । पार्टीका सिनियर नेताहरुले यही पद ताकेका छन् ।

सहमहामन्त्री प्रतिभा रावल र कोषाध्यक्ष लीमा अधिकारीले बढुवा भएर उपसभापति बन्ने चाहना राखेका छन् । कानुनमन्त्री रहेकी सोविता गौतमले पनि उपसभापति बन्ने आकांक्षा राखेकी छन् । उनी रास्वपाका संस्थापक केन्द्रीय सदस्य हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us