समायोजन भएर आएकाहरूलाई अन्याय हुन नदिने रविको प्रतिबद्धता

काठमाण्डु टुडे २०८३ असार ७ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनबाट नया नेतृत्वको चयन गर्दा पार्टीमा विभिन्न संघ–संगठनबाट समायोजन भएर आएकाहरुलाई चुनावी प्रक्रिया बाहिरैबाट समेट्ने तयारी गरेको छ । पार्टी प्रवेश गरेको छोटो समयमै चुनावी प्रतिस्पर्धामा उत्रिन कठिन हुने भएकाले उनीहरूलाई सभापतिले मनोनीत गरेर ल्याउने रणनीति रास्वपाको छ ।

आमनिर्वाचन अघि बालेन, विवेकशील साझा, खगेन्द्र सुनुवार, थरुहट लगायत विभिन्न समूहबाट रास्वपामा प्रवेश गरेका थिए । उनीहरुमध्ये केहीले सरकार र संसदमा प्रतिनिधित्व गरिरहेका छन् । तर, पार्टीमा क्रियाशील रहेर कुनै अवसर नपाएकाहरुलाई सभापतिले केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरिएको छ ।

यसैका लागि पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय पुर्‍याइएको हो । हिजो बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समायोजन भएर आएका नेता–कार्यकर्ताहरुलाई अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले भने, ‘तपाईंहरुको अवस्था मलाई राम्रोसँग थाहा छ ।

तपाईंहरूले सक्रियरूपमा पार्टीका लागि काम गरिरहनुभएको छ । तर भर्खरै संगठनमा आएर चुनावी प्रतिस्पर्धा गर्न सहज हुन्न । यसलाई पार्टीले सम्बोधन गर्ने छ ।’ स्रोतका अनुसार सभापतिले रास्वपामा आएर कुनै पनि लाभको पदमा नपुगेकाहरूलाई केन्द्रीय सदस्य मनोनयनमा प्राथमिकतामा राख्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us