काभ्रे दुर्घटनाका मृतक सबैको सनाखत, नेपाली सेनाका अमलदार पनि परे

काठमाण्डु टुडे २०८३ जेठ ३० गते १४:५० मा प्रकाशित

काठमाण्डु– काभ्रेमा शुक्रबार भएको यात्रु बस दुर्घटनामा मृत्यु भएका सबै ८ जनाकै सनाखत भएको छ ।

बनेपाबाट भकुण्डेबेसी जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ मा बुच्चाकोटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो ।

काभ्रे प्रहरीका डिएसपी रविन विष्टले मृतक सबैको सनाखत भएको जानकारी दिए ।

विष्टका अनुसार मृत्यु हुनेमा रोशी गाउँपालिका–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ, रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ र ५५ वर्षीय राजु तामाङ तथा रोशी–७ का ६० वर्षीया माया तामाङ छन् ।

यस्तै दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुली घ्याङलेक गाउँपालिका–४ की २२ वर्षीया सुमि तामाङ छन् ।

मृतक भण्डारी नेपाली सेनाका अमलदार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us