काठमाण्डु– प्रहरी प्रधान कार्यालयले शुक्रबार काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
प्रहरी महानिरीक्षक दानबाहदुर कार्कीले एसएसपी कमल थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् ।
थापा नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीमा कार्यरत छन् ।
समितिमा काभ्रे प्रहरीका डिएसपी रविन विष्ट, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डिएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपाका वरिष्ठ सई टंक शिवाकोटी र इलाका प्रहरी कार्यालय देवीटारका हबल्दार बासुदेव खड्का छन् ।
समितिको सदस्य सचिव वरिष्ठ सई शिवाकोटी तोकिएका छन् ।
समितिलाई घटनाको सत्य तथ्य पत्ता लगाएर ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ८ यात्रुको मृत्यु भएको थियो ।