काठमाण्डु, २४ वैशाख – संविधान लेख्न संविधानसभा पठाइएका सभासद आफ्नै घरकरेसोमा मोटरबाटो लैजान दिनहुँ बजेट माग्दै मन्त्रालय धाइरहेका छन् ।
नयाँ आर्थिक बर्षको बजेट तयारी भइरहँदा सभासद तथा विभिन्न पार्टीका नेता निर्वाचन क्षेत्रको निहुंमा आफू वा नजिकका कार्यकर्ताको घरपायक बाटो लैजान भौतिक निर्माण तथा यातायात मन्त्रालय र सडक विभाग दौडिरहेका छन् ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री, सभासद र स्थानीय प्रशासनको सिफारिसमा दैनिक २ सय बढी यस्ता निवेदन विभागमा दर्ता भइरहेका छन् । निवेदन हेर्दा सभासदले आफनै घर वा जग्गालाई सुगम बनाउने ध्येयले बजेट मागेको प्रष्ट देखिने स्रोत बताउँछ ।
अधिकाँश सभासद तथा स्थानीय राजनीतिक दलका कार्यकर्ता मन्त्रीको सिफारिस लिएर ५ देखि १० किलोमिटर बाटोमा पैसा राखिदिन निवेदन लिएर आउँछन् ’ विभाग स्रोतले भन्यो तोक लगाएको निवेदन अस्वीकार गर्न पनि गाहे, यस्ता सडकले महत्व पाउँदा समुदाय, गाउँ वा पर्यटन व्यवसायमा टेवा पुग्ने बाटो जहिल्यै ओझेलमा पर्ने गरेका छन् । ’