काठमाण्डु, २२ वैशाख गएरातिदेखि परेको पानीसँग झरेको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा र चितवनको फिस्लिङमा पहिरो गएको छ । आइतबारदेखि परेको अविरल वर्षा पछि गएको पहिरोले काठमाण्डुलागि आएका र काठमाण्डुबाट छुटेका सवारी सधानबीच बाटोमा अलपत्र परेका छन् ।
अवरोध हटाउने प्रयास जारी रहेको छ ।
जोगिमाराको जवाङ खोलामा गएको पहिरोलाई हटाउन जेसिबी गइसकेको र एक घन्टाभित्र एकतर्फी सवारी खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
त्यस्तै चितवनको फिस्लिङमा पनि पहिरो गएको छ । जोगिमारा भन्दा फिस्लिङको पहिरो ठूलो रहेको र बाटो सूचारु गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।
उक्त बाटो खुलाउन सडक डिभिजन कार्यालय भरतपुरबाट डोजर हिँडाएको प्रहरीले जनाएको छ ।