भट्टराईको सात बुँदेमा २२ वटै समूहकाे अापत्ति

काठमाण्डु टुडे २०७१ वैशाख २१ गते १३:४८ मा प्रकाशित

विराटनगर, २१ वैशाख– एकीकृत माओवादीको विराटनगरमा जारी बन्दशत्रमा नेता बाबुराम भट्टराईले पेश गरेको नयाँ शक्ति निर्माणसम्बन्धी सात बुँदे फरक मतको baburamचर्को विरोध भएको छ ।
बन्दशत्रमा समूहगत छलफलबाट आएका सुझाव पेश गर्ने १८ समूहका टोली नेता भट्टराईविरुद्ध खनिएका हुन् । उनीहरुले भट्टराईले पार्टी नीति र विधिविपरीत फरक मत ल्याएको भन्दै आपत्ति जनाएका हुन् । ‘बाबुराम कमरेडको फरक मत ढोकाबाट नभई झ्यालबाट आयो’, टोली नेता युवराज चौलागाईंले भने,  ‘उहाँको स्तरको नेताबाट यसरी प्रस्ताव आउनु बेठीक भयो ।’

चाैलागाईंले भट्टराईले पार्टीभित्र स्थायी प्रतिपक्षीको भूमिका खेल्ने गरेको आरोप लगाए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका कुराको विरोध गर्नु भट्टराईको नियमित ड्युटी भएको चोलागाईंको भनाइ थियो । आफ्नै पूर्वमान्यताविपरीत नयाँ शक्तिको अवधारणा अघि सारेर भट्टराई आफैंले पद त्यागको घोषणा नौटंकी थियो भन्ने सावित गरेको टिप्पणी उनको थियो । सुझाव राख्ने अधिकांश टोली नेताले सम्मेलनबाट भट्टराईको आलोचना गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

एमाले र वैद्यसँग एकता गर्न नहुनेमा जोड
सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा उल्लेख पार्टी एकता र ध्रुवीकरणसम्बन्धी प्रस्तावमा पनि आलोचना भएको छ । अधिकांश समूहले एमाले र मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीसँगको एकता प्रस्ताव अमुर्त रहेको भन्दै स्पष्ट गर्न भनेका छन् ।

एमालेले माओवाद अस्वीकार गर्दै आएको तथा वर्ग संघर्ष र बलप्रयोगको सिद्धान्त परित्याग गरेका कारण उसँग एकताको कुरा गर्नु अनावश्यक भएको टिप्पणी आएको नुवाकोटका सम्मेलन प्रतिनिधि पुष्प लामिछानेले काठमाण्डु टुडेलाई बताए ।

उनका अनुसार माक्र्सवाद, लेनिनवाद र माओवाद मान्ने शक्तिसँग मात्र एकता हुनसक्ने सबै समूहको साझा धारणा छ । यस्तै केही समूहका नेताले गत संविधानसभा निर्वाचनमा विपक्षीको पैसा खाएर पार्टी हराउन भूमिका खेलेका कारण वैद्य पक्षसँग तत्काल एकता गर्न नहुने दबाब दिएका छन् ।

भारतलाई विस्तारवादी किटान गर्न माग
अध्यक्षको प्रतिवेदनमा भारतलाई विस्तारवादी किटान नगरिएकामा पनि आलोचना भएको छ । पश्चिमा शक्तिको हस्तक्षेपबारे उल्लेख भए पनि नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपबारे दस्तावेज मौन रहेको समूहगत छलफलको निष्कर्ष छ ।

अध्यक्ष प्रचण्डले दस्तावेजमा ‘भारतीय एकाधिकार पुँजीवाद’ भन्ने शब्दावली प्रयोग गरेका छन् । ‘चीन र भारतलाई एउटै दूरीमा राख्दा राष्ट्रिय मुक्ति आन्दोलन कमजोर हुन्छ’, लामिछानेले भने, ‘त्यसकारण भारतलाई भारतीय विस्तारवाद भन्नुपर्छ र नेपालको आन्तरिक मामिलामा भारतबाट हँुदै आएको हस्तक्षेपबारे दस्वतावेज बोल्नुपर्छ ।’

बन्दशत्रमा अधिकांश समूहले अध्यक्ष प्रचण्डको दस्तावेजको मुल स्प्रिट सही भए पनि कार्यान्वयनमा आशंका गरेका छन् । दस्तावेज कार्यान्वयनका लागि सबै नेता इमान्दार हुनुपर्ने भनाइ उनीहरुको छ ।
बन्दशत्रमा आइतबार चन्द्रबहादुर थापा, रेणु दाहाल, हितबहादुर तामाङ, समर सेन, महेश्वर गहतराज, युवराज चौलागाईं, शारदा बराल, विमला केसी, उर्मिला आर्याल, हरिराज खेवा, हिमाल शर्मा, भगवती प्रधान र युवारज दुलाल लगायतले धारणा राखेका थिए ।

निर्वाचनबाटै नेतृत्व चुन्न दबाब
सम्मेलन अझै केही दिन चल्ने देखिएको छ । बन्दशत्र सकिन समय लागेको र केन्द्रीय सदस्य चयनको प्रक्रियामा विवाद भएका कारण सम्मेलन अझै केही दिन लम्बिने सम्भावना बढेको हो । १८ गतेदेखि जारी सम्मेलन सोमबार सकिने बताइएको थियो ।

सोमबार बिहान ८ बजेसम्मका लागि बन्दशत्र स्थगित भएको प्रवत्ता दीनानाथ शर्माले बताए । उनका अनुसार अध्यक्ष प्रचण्डले भोलि बन्दशत्रमा उटेका विषयको जवाफ दिनेछन् । त्यसपछि नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बोलेलगगत्तै निर्वाचन प्रक्रिया सुरु हुने जानकारी उनले दिए ।

उनले निर्वाचनका लागि लागि १ हजार ७ सय मतदाताको नाम सार्वजनिक गरिएको पनि बताए । अधिकांश सहभागीले निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने माग गरेका कारण निर्वाचनको सम्भावना बढेको छ ।

यसैबीच अध्यक्ष प्रचण्डले सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप अाइतबार सम्मेलन आयोजक समितिको बैठक बोलाएका छन् । प्रचण्डले सदस्यहरुसँग परामर्श गरेर केन्द्रीय सदस्यको सूची तयार पार्ने बताए पनि आयोजक समितिका सदस्यहरुले निर्वाचनमा जानुपर्ने दबाब दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us