
काठमाण्डु , ३१ भदौ – शान्ति सेनामा जाने नेपाली सेनाको भत्तादर प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि हुने भएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको १ हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना १ हजार १ सय १४ अमेरिकी डलर कायम गर्ने निर्णय गरेको हो ।
बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले प्राप्त गरिरहेको १ हजार ३ सय ७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी १ हजार ३ सय ९९ अमेरिकी डलर प्रतिमहिना कायम गर्ने निर्णय गरेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, वृद्धि गरिएको भत्तादर आगामी असोज १४ ९अक्टुबर १०देखि लागू हुनेछ ।
अन्य मुलुकहरुको प्रचलित अभ्यास एवं सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही भत्तादर पुनरावलोकन गर्ने निर्णय लिइएको सेनाले बताएको छ । वृद्धि गरिएको भत्तादरको कारणले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख व्ययभार पर्ने भएतापनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको सेनाको भनाई छ ।
हाल विश्वका ११ वटा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ मिशनमा १९५ महिलासहित ५ हजार ९५ नेपाली शान्ति सैनिक खटिरहेका छन् । शान्ति सैनिकमा योगदान गरेबापत संयुक्त राष्ट्रसङ्घबाट नेपाली सेनाले प्राप्त गर्ने रकमबाट २०३२ सालमा १ करोड २४ लाख रकमबाट प्रारम्भ गरिएको सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति अहिले ४४ अर्ब बराबर पुगिसकेको छ ।
ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौँ नम्बरमा छ ।