माधव नेपाललाई फसाएर ओलीले आफैं जाने जेलको साँचो खोलेः सुनिल शर्मा

काठमाण्डु टुडे २०८२ जेठ २७ गते ७:४८ मा प्रकाशित

काठमाण्डू, २७ जेठ–सत्तारुढ काँग्रेस सांसद् डा. सुनिल शर्माले प्रधानमन्त्री केपी ओली कुनै पनि दिन भ्रष्टाचार मुद्धामा जेल जाने दाबी गरेका छन् ।
पतञ्जली जग्गा प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ओलीले प्रतिशोध साँधेको भन्दै उनले ओलीको समेत भावी दिन सुखमय नरहेको जिकिर गरे । शीर्ष नेताहरुमध्येमा तुलनात्मक रुमपा स्वच्छ छविका माधव नेपालमाथि भ्रष्टाचार मुद्धा लाग्दा उनीभन्दा भ्रष्ट नेताहरु उम्किन नसक्ने उनको भनाइ थियो ।

‘खड्गप्रसाद ओलीले माधव नेपालमाथि प्रतिशोध साँधेको कुरामा दुई मत छैन’, शर्माले काठमाण्डूटुडेसँग भने, ‘यति हुँदाहुँदै पनि खड्गप्रसाद धन्यवादको पात्र हुनुहुन्छ । किनकी आफू जाने जेलको साँचो उहाँ आफैंले खोल्नुभएको छ ।’

नियत खराब राखेर अख्तियारको दुरुपयोग गरेर नेपाललाई मुद्धा दर्ता गरिएको भए पनि ओली उम्किने बाटो नभएको तर्क उनको छ । ‘इन्टेन्सन जेसुकै होस्, उहाँले आफैं जाने बाटो खोल्नुभएको छ’, शर्माले भने ।

पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा किन्न र बेच्न अनुमति दिँदा पूर्वप्रधानमन्त्री नेपालबाट कमजोरी भएको भए पनि पतञ्जलीभन्दा धेरै ठूला काण्डमा ओली संलग्न रहेको आरोप शर्माले लगाए ।

शर्माले आगामी ०८४ को निर्वाचनमा देश लुटपाटमा संलग्न शीर्ष नेतालाई पत्तासाफ गराउन मतदातालाई अपिलसमेत गरे ।

सबै दलका अधिकांश शीर्ष नेता र उनीहरुका परिवारका मानिस भ्रष्टाचारमा जेल जाने उनले दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us