चिनियाँ विदेश मन्त्री स्वदेश फर्किए

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १६:०३ मा प्रकाशित

काठमाण्डु , २४ भदौ —चिनियाँ विदेश मन्त्री वाङ यी आज स्वदेश फर्किएका छन् । चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी मंगलबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेश मन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे विचारविमर्श गरेका थिए।

त्यसअघि दुवै देशका परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मन्त्री ज्ञवालीले विदेश मन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us