
काठमाण्डु, २८ जेठ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टिएको छ । अर्जुनचौपारी–३ को सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा।२झ ४०२९ नम्बरको गाडी पल्टिएको हो ।
गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो ।
दैनिक तीनवटा मिनिबस, १० जिप र मालवाहक सवारीसाधनहरू दरौँ खोलाको यही भँगालोबाट वारपार गर्न बाध्य छन् । देशकै पहिलो होमस्टे भनेर चिनिने स्याङ्जाको सिरुबारीसम्म दरौँ खोलो हुँदै सवारीसाधन चल्छन् ।
पोखराबाट स्याङ्जा सदरमुकाम हुँदै अर्जुनचौपारी बजार आउने गाडी जोखिमपूर्ण रूपमा दरौँ खोलो तरेर सिरुबारीसम्म पुग्छन् । स्थानीयले असोजदेखि जेठसम्म यसरी नै यात्रा गर्नुपर्छ । बर्खाको तीन महिना यो रुटमा यातायात बन्द हुन्छ ।
सहरे खोलामा मन्त्री महासेठले शिलान्यास गरेको पुल तयार भए दरौँमा अर्को पुल आवश्यक नपर्ने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल बताउँछन् ।
पुल अर्जुनचौपारी–३ हुँदै आँधीखोला–१ जोडिने मार्गअन्तर्गत पर्छ । तीन करोड सात लाख लागतमा पुल निर्माण हुन लागेको हो ।