सरकारलाई राष्ट्रियसभा अध्यक्षले सचेत गराए

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १२:२४ मा प्रकाशित

काठमाण्डु, ९ जेठ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र कानुनको मर्म विपरित नियमावली र निर्देशिका जारी नगर्न सरकारलाई सचेत गराएका छन् ।

अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म विपरित सरकारले नियमावली र निर्देशिका जारी गरे–नगरेको कडा निगरानी गर्न पनि राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई निर्देशन दिए ।

बिहीबार काठमाण्डुमा आयोजित प्रत्यायोजित विधायनसम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानको स्पिरिट अनुसार कानुन र कानुनको परिधिभित्र रहेर नियमावली तथा निर्देशिका जारी गर्न पनि संघीय संसद र सरकार दुवैको गम्भिर ध्यानाकर्षण गराए ।

अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन बनाउने कुरामै जटिलता आउन थालेको उल्लेख गर्दै सम्बन्धित पक्षलाई सावधानीपूर्वक कानुन निर्माण गर्न सतर्क पनि गराए ।

कार्यक्रममा बोल्दै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले जथाभावी सरकारले नियमावली र निर्देशिका जारी गर्न थालेपछि त्यसलाई रोक्ने ठोस रणनीति तय गर्न समितिले विज्ञहरुसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु परेको स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us