मेराविरुद्ध विद्या भण्डारीले बम पड्काउँछिन् भन्ने आशा नराखे हुन्छः ओली

काठमाण्डु टुडे २०८२ असार १४ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, १४ असार– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एमालेको आन्तरिक एकता कमजोर भएको देख्न चाहनेहरुलाई धेरै आशा नगर्न आग्रह गरेका छन् ।

तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा ‘मदन भण्डारी’ फाउन्डेशनले शनिबार राजधानीमा गरेको कार्यकमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटाउन खोज्नेहरुले फैलाएको भ्रमको पछि नलाग्न पार्टी पंक्तिलाई आग्रह गरे ।

आज असार १४ गतेको दिन पारेर एमालेमा ठूलै केही हुन्छ भनेर केही मानिस आशा गरेर बसेको उनले बताए ।

भण्डारीकै जन्मोत्सवको अवसर पारेर बिहान आयोजित वृक्षा रोपण कार्यक्रमबारे केही सञ्चार माध्यममा अफवाह फैलाइएको उनको भनाइ थियो ।

‘आज मदन भण्डारी ७४औं जन्मजयन्ती पनि हो, राष्ट्रिय वृक्षारोपण पनि हो, देश त्यसमा लागेको छ’, ओलीले भने, ‘कुन चाहिँ अनलाइन हो कुन्नी थाहा छैन यो कार्यक्रम भाँड्नका लागि वृक्षारोपण कार्यक्रम राखियो भनेर भन्छ ।’

ओलीले आफू र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच फाटो ल्याउन खोज्नेहरुले विभिन्न हल्ला चलाएको भन्दै आक्रोश पोखे । आफूविरुद्ध भण्डारी र भण्डारीविरुद्ध आफूले बम पड्काउँछ भन्ने आशा मानिसहरुले राखेको भन्दै ओलीले त्यस्तो आशा पूरा नहुने उल्लेख गरे ।

‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती । यसलाई धेरैले विभिन्न आश गरेका छन् ।

यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ भन्ने सपना देखेर बसेको छ,’ ओलीले भने, ‘कुनै बम, बन्दुक, बारुद, गोला केही पड्कनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक हुन्छ, एकजुट भएर लाग्छ ।’

ओलीले आफू र विद्या भण्डारी सहभागी हुने कार्यक्रम केही गरेर नभाँडिने दाबी गरे ।
‘साथीहरू बस्ने ठाउँ नपुगेर यस्तो छ । यो कार्यक्रम के भाडिनु ?’, ओलीले भने, ‘म आउने र विद्या भण्डारीजी आउने कार्यक्रम कसरी भाँडिन्छ ?’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us