
भक्तपुर, १४ असार– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा विचलन आएको बताएका छन् ।
पार्टी सम्वद्ध उद्योग व्यापार संगठनले शनिबार भक्तपुरमा गरेको कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताए ।
समर्पण हराएर कम्युनिष्ट पार्टीमा व्यक्तिगत स्वार्थ, प्रतिष्ठा र पद प्राप्तिका निम्ति मान्छेहरुले तँछाडमछाड गरिरहेको उनले बताए ।
आदर्श, समर्पणभाव, त्याग र तपस्यामार्फत जनसेवा गर्न तथा वर्गीय मुक्तिका लागि समर्पित गर्ने प्रतिबद्धताका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको प्रचण्डको भनाइ थियो ।
विचार, राजनीतिक एजेण्डा, वर्ग र समुदायसँग नजिकको सम्बन्ध स्पापित गरी उनीहरुको मुक्तिका लागि समर्पित हुने प्रतिबद्धता प्रचण्डले जनाए ।