जब आमासँगै सुतेकी बालिकालाई थुतेर हत्या गरियो…

काठमाण्डु टुडे २०८२ असार १४ गते १५:४६ मा प्रकाशित

विराटनगर, १४ असार– मोरङको धनपालथान गाउँपालिका–६, बबिया टोलमा रात शान्त थियो ।
एक साधारण गाउँको एक साधारण घरभित्र, पाँच वर्षकी आत्तिका सरदार आफ्ना बाबु आमाको अँगालोमा निदाएकी थिइन् । त्यही न्यानो काखमा, उनी सायद कुनै मिठो सपना देखिरहेकी थिइन् । तर ती सपना एक्कासि चकनाचुर भए।
बिहान ३ बजेसम्म छोरी छेउमै थिइन् । तर त्यसपछि, खाट रित्तो भयो । आत्तिकाको अनुपस्थितिले बाबु आत्तिए, आमा तर्सिइन् । गाउँभर आवाज फैलियो, ‘छोरी हराइन् ।’
छिमेकीहरू उठे । टर्च बालियो । खेततिर पाइला चले । कोही घरका पछाडि हेर्थे, कोही पिँढी मुनि । प्रहरीलाई खबर गरियो । प्रहरी, गाउँले र परिवार मिलेर खोजी गरे ।
अन्ततः झण्डै सय मिटर पर, खेतको छेउमा एक सानो आकृति भेटियो । उनी आत्तिका थिइन् । तर, उनी बोल्दिनथिन् । अब उनी कुनै कुरा सुनिन्थिन । त्यो अनुहारजो केही दिनअघि सम्म हाँस्दा गाउँभरि उज्यालो पोत्थ्यो । आज मौन थियो, अस्वाभाविक र बिडम्वनापूर्ण मौन ।

शनिबार बिहान गाउँको आकाश नीलो थिएन । खेतको हावामा गन्ध थियो, र माटोमा एउटा अबोध जीवनको चिह्न ।
बबिया टोलमा आज सन्नाटा छ । आत्तिकाका बाबु अक्षय सरदार बोल्न सकेका छैनन् । उनका आँखा आँसुले भरिएका छन् । उनका आँसुले छोरी होइन, अब न्याय खोजिरहेका छन् । आत्तिकाको आमाले बाँकी जीवनमा त्यो रातको ३ बजेलाई कहिल्यै बिर्सन सक्ने छैनन् ।
प्रहरी अनुसन्धानमा छ । एक जनालाई नियन्त्रणमा लिइएको छ । कोशी अस्पतालमा आवश्यक प्रक्रिया अघि बढिरहेको छ । तर प्रश्नहरू यत्तिकै गहिरिंदै छन् । किन बाबुआमाको न्यायो अंगालकोमा मस्त निदाइरहेकी अवोध बालिकाले उज्यालो देख्न पाइनन् ?
गाउँ त केही दिनमा निदाउला । तर, यो त्रासदीपूर्ण घटनाले गाउँलाई पटकपटक झस्काउनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us