विद्या भण्डारीले सधैं राम्रो कुरा गर्दै आउनुभएको छः ओली

काठमाण्डु टुडे २०८२ असार १४ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, १४ असार– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको दाबी गरेका छन् ।

भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले आफूहरुले लामो छलफलको निस्कर्षसहित भण्डारीलाई महासचिव बनाएको दाबी गरे ।

‘हामीले नै मदन भण्डारीलाई महासचिव बनाएका थियौं’, ओलीले भने, ‘मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन ।’

ओलीले जनताको बहुदलीय जनवादका प्रवर्तक भण्डारीलाई धेरैपटक बदनाम गर्न खोजिएको बताए । उनले भण्डारीका ४ वटा श्रीमती थिए भन्नेसम्मका आधारहीन आरोप लगाइएको उनको भनाइ थियो ।

फरक प्रसंगमा ओलीले एमालेमा आन्तरिक एकता नचाहने तत्वले आजको दिनलाई नियालेर बसेको बताए । उनले धेरै उत्साहित नहुने भने ।

ओलीले आफू स्पेन उड्नुपर्ने भएकाले समयको चापमा रहेको भन्दै मन्तव्य छोट्याएका थिए । मन्तव्य सक्दै गर्दा उनले मदन पत्नी एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कुरा सुन्न मन भए पनि समय अभावले सम्भव नभएको बताए ।

तर, भण्डारीले राम्रै कुरा गर्ने आफूलाई थाहा भएको उनको भनाइ थियो ।

‘उहाँको कुरा पहिल्यैदेखि सुन्दै आएको हुँ, राम्रो बोल्नुहुन्छ’, ओलीले भने, ‘आज पनि उहाँले राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छ ।’

भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us