बाँसघारीमा भेटियो नालनै नकाटिएको बच्चा

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – पोखरामा अनौठो घटना भएको छ । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारीमा फालिदिएकी छिन् । पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारीमा फालिदिएकी हुन् ।

उदयपुर घर भएकी सीमा श्रीमानले छोडेपछि पोखरामा बस्दै आएकी थिइन् । बस्दै गर्दा चिनेजानेको एकजनासँग उनको शारिरीक सम्पर्क भयो, र बच्चा जन्माईन् ।

आर्थिक अवस्था कमजोर भएकी सीमालाई बच्चा पाल्ने आँट आएन । जन्मिसकेको बच्चा मार्ने हिम्मत पनि उनले गरिनन् र पाल्न नसक्ने भएपछि घर आडैको बाँसघारीमा लगेर फ्याँकिदिईन ताकी अरुले देखोस् र कसैले लगेर पालोस् भनेर ।

‘मेरो बच्चाको माया धेरै छ । तर पाल्ने अवस्था छैन । मार्न पनि सकिनँ’, प्रहरीसँगको बयानमा उनले भनेकी छन्, ‘कसैले लैजाओस् भनेरै देख्ने ठाउँमा फालिदिएको हुँ ।’

सीमालाई गर्भधारण गराउने पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ । फेला परेको शिशु पनि उनकै जिम्मा लगाउने तयारी छ । स्थानीयले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शिशुलाई गण्डकी अस्पतालमा राखिएको छ । अहिले बच्चाको अवस्था सामान्य रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us