
परासी, २८ चैत – नवलपरासीमा यस वर्ष करिब ३० करोड बराबरको अदुवाको कारोबार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
व्यावसायिक रूपमा अदुवाखेती गर्दै आएका नवलपरासीका १७ गाउँ विकास समितिका कृषक यस वर्ष कहिल्यै नभएको अदुवाको मूल्य वृद्धिका कारण धेरै आम्दानी गर्न सफल भएका छन् ।
विगत ४० वर्षयताकै यो वर्षमा अदुवा र सुठोको उत्पादन बढेसँगै यसको मूल्यमा आएको तीव्र वृद्धिले किसान उत्साहित भएका जौबारीका कृष्णबहादुर रानाले बताए ।
सोचेभन्दा उत्पादन र यसको मूल्यसमेत राम्रो भएकाले पनि कृषक अदुवाखेतीतर्फ आकर्षित भएका डाँडाझेरीका अदुवा कृषक प्रेमसिंह लुगेंली मगरले जानकारी दिए ।
गत वर्ष अदुवा प्रतिधार्नी ५० र सुठो प्रतिधार्नी २५० रहेकोमा यो वर्ष अदुवा प्रतिधार्नी २०० र सुठो प्रतिधार्नी एक हजारसम्म रहेको अदुवा व्यापारी बताउँछन् ।
अदुवाको उत्पादनमा वृद्धि हुन थालेपछि अहिले कृषकलाई अदुवाको सुठो बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ, गोठडाँडाका अदुवा कृषक यमबहादुर दर्लामी मगर भन्छन्, ‘अहिले अदुवा र त्यसबाट बनेको सुठोको मूल्य अत्यधिक रहेका कारण पनि किसान यो पेसातर्फ थप आकर्षित भएका छन् ।’ यहाँका एक जना किसानले मात्रै अदुवा र सुठो बेचेर वार्षिक रु १० लाखसम्म आम्दानी गरेका छन् ।
जिल्लाको रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौवारी, भारतीपुर, मिथुकरम, नरममा, रुचाङ, धौवादी, राकाचुली, हुप्सेकोट, मैनाघाट, धुर्कोट, वेणिमणिपुर गाविसका पाँच हजार कृषक प्रत्यक्षरूपमा अदुवाखेतीमा संलग्न छन् ।
जिल्लाबाट गत वर्ष २० करोडसम्मको अदुवा निकासी हुने गरेकामा यो वर्ष रु ३० करोड भन्दा बढिको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाका पहाडी गाविसका गाउँमा अधिकांश मगर समुदायका बासिन्दा अदुवाखेतीमा प्रत्यक्षरूपमा संलग्न छन् । गत वर्षका तुलनामा यो वर्ष अदुवा उत्पादनमा २५ प्रतिशतदेखि ३० प्रतिशतले वृद्धि हुने र मूल्य पनि सोचेभन्दा राम्रो रहेकाले पनि कृषकले धेरै आम्दानी गर्ने अदुवा कृषक मोतिलाल ठाडा मगरले बताए ।