
इस्लामावाद, २५ चैत – पाकिस्तानी सैनिकको एक सानो जहाज मंगलबार गुजरवाला भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा उक्त विमानमा रहेका दुईजना चालकको ज्यान गएको छ ।
पाकिस्तानी सैनिकले मंगलबार सो दुर्घटनाका बारेमा जानकारी दिएको बताइएको छ । पाकिस्तानको राजधानी इस्लामावादबाट करिब १५१ किलोमीटर दक्षिणपश्चिममा रहेको गुजरवाला भन्ने स्थानमा सो विमान दुर्घटनामा परेको हो ।
सैनिकले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा सैनिक अधिकारीहरुको तालिमको क्रममा रहेको सो जहाज खसेर दुर्घटना भएको र त्यसमा रहेका दुवै जना चालकको ज्यान गएको जनाइएको छ ।
पाकिस्तानी सैनिकले तालिमका क्रममा यस्ता मुसाक नामका जहाजहरुको प्रयोग गर्ने गरेको छ । यो दुर्घटनाग्रस्त विमान पनि मुसाक नै हो ।