प्रहरी संगठन राजनीतिको प्रत्यक्ष प्रभावभित्र छः पदम गिरी

काठमाण्डु टुडे २०८२ असार ११ गते १७:१८ मा प्रकाशित

काठमाण्डू, ११ असार– पूर्व मन्त्री एमाले सांसद पदम गिरीले उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई केन्द्रित गराउन आवश्यक रहेको बताएका छन ।

यस्तो वातावरण राजनीतिक तहबाटै दिन नसकिएको उनले बताए । आज (बुधबार) बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एमाले सांसद गिरीले यस्तो बताएका हुन ।

उनले भने, ‘उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रित भएर लाग्नका निम्ति हामीले राजनीतिक तहबाट जस्तो खालको वातावरण दिनुपर्दथ्यो । त्यो हामीले दिन सकेका छौं भन्ने लाग्दैन ।’

प्रहरी राजनीतिको प्रत्यक्ष प्रभावभित्र रहने अवस्थामा रहेको उनको भनाइ छ । ‘राजनीतिको प्रत्यक्ष प्रभावभित्र प्रहरी संगठन रहने, राजनीतिक दाउपेचको कोपभाजनमा पहिला कोही पर्‍यो भने प्रहरीहरू पर्ने ।

यसले वास्तवमा अपराध अनुसन्धान गर्नेदेखि लिएर शान्ति सुरक्षा कायम गर्ने कुरामा वाधा उत्पन्न गर्ने गरेका विगतमा अनुभवहरू छन्,’ गिरीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us