
काठमाण्डू, ११ असार– एमाले सांसद सूर्य थापाले ग्याविन वायर र आयुर्वेदिक औषधीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगायतको विषयमा अहिले छलफल गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन ।
आज (बुधबार) प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा भएको छलफलमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । एमाले सांसद थापाले भने, ‘यो छलफल के के नमिले जस्तो लाग्यो। आर्थिक विधेयकमा संशोधन प्रस्तावका लागि हिजो हाउसले निर्णय गरेको छ। सांसदहरूको ध्यान त्यता जानुपर्ने हो, ७२ घण्टाको समयचाहिँ त्यता लाग्नुपर्ने हो, अहिले हामीले उत्पादक सङ्घ वा अरू अरूसँग छलफल गर्ने बेला हो कि होइन ?’
उनले आर्थिक विधेयकमा करका दरहरू प्रस्तावित भैसकेको हुँदा प्रतिनिधिसभामा विचाराधीन रहेको र १४ गते आर्थिक विधेयकमा संशोधनहरू माथि छलफलको निर्धारित कार्यसूची रहेकाले अहिले छलफल गर्न उचित नरहेको प्रतिक्रिया दिए ।
‘जतिसुकै राम्रो कुरा पनि सही समयमा छलफल गरिएन भने सही कुरा सही ढङ्गले उठाएको अनुभूति हुन्न। यो खालको प्रचलनचाहिँ हामीकहाँ थिएन है समितिमा ।’
बजेटपछि दर्ता भएका विधेयकहरू पारित हुनुभन्दा अगाडि यो अर्थ समितिको क्षेत्राधिकार भित्रको विषय नभएको र छलफल उचित नभएको उनले बताए । अर्थमन्त्रीको उपस्थिति बिना छलफल अनुचित भएको समेत थापाले बताए ।