
काठमाण्डू, ११ असार– सत्तारुढ एमालेको सचिवालय बैठक आज बस्दै छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित मुख्यालयमा दिउँसो १ ०० बजे बैठक बस्न लागेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताए ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।
एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालभन्दा बढी कार्यकारी जिम्मेवारीमा निरन्तर हुन पाउने कि नपाउने भन्ने विवाद चर्किएको छ । ७४ वर्षीय अध्यक्ष केपी ओली दोश्रो कार्यकालको करिब अन्तिमतिर छन् ।
उनी यसअघि आफ्नै जोडबलमा ल्याइएको उमेर हद र कार्यकालको सीमा हटाउने मनस्थितिमा छन् ।