बोलेकै आधारमा सुकुमबासीलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान

काठमाण्डु टुडे २०८३ असार १६ गते १५:२३ मा प्रकाशित

काठमाण्डू, १६ असार– बोलेकै आधारमा एक सुकुमबासी अहिले प्रहरी हिरासतमा छन् । आफू र आफ्ना समुदायलाई उचित व्यवस्थापन बिना होल्डिङ सेन्टरबाट नहटाउन चेतावनी दिँदा असार १५ गते भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डूको कीर्तिपुरबाट पक्राउ परेका उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखेर प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भईरहेको स्रोतले जानकारी दिएको छ ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । असार १३ मा तामाङले बिजुली बजारमा सञ्चार माध्यमसँग कुरा गर्दै भनेका थिए, ‘होल्डिङ सेन्टरबाट निकाल्न खोजिए खुकुरी लिएर सिंहदरबार जान तयार छु ।’

उचित व्यवस्थापन बिना सरकारले होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुमबासीहरुले विरोध गर्दै आएका छन् । प्रदर्शनमा आएका बेला तामाङलाई सञ्चारकर्मीले प्रतिक्रिया लिँदा उनले सरकार विरुद्ध आक्रोश पोखेका हुन् । त्यही आक्रोपूर्ण बोली उनीविरुद्ध मुद्दा चल्ने आधार बनेको छ ।

उनले काठमाण्डूमा घर, जग्गा र ८ लाख नगद पाउनुपर्ने माग राखेका थिए । आरोपीले सार्वजनिक रूपमा शान्ति भड्काउने अभिव्यक्ति दिएको हुनाले मुद्दा चलाउनुपरेको एसपी भट्टराईले बताए ।

उनले भने, ‘समाजमा शान्ति भड्काउने गतिविधि प्रहरीको अनुसन्धानको दायरामा पर्छ ।’ कसैले उच्छृङ्खल गतिविधि गरेमा प्रहरीले मुद्दा चलाउन पाउने भएपनि बोलेकै आधारमा मुद्दा चलाउन नमिल्ने अधिवक्ता रक्षा बस्यालले बताइन् ।

उनले भनिन्, ‘उच्छृङ्खल गतिविधि नगरेको अवस्थामा बोलेकै भरमा मुद्दा चलाउनु उपयुक्त होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us