
जाकर्ता, २० चैत – इन्डोनेसियाले बुधबार सानोतिनो सुनामी आउन सक्ने भनि दिइएको सुनामी चेतावनी इन्डोनेसियाली जलवायु र भूशास्त्र अध्ययन संस्थाले विहीबार रद्द गरेको छ ।
उत्तरी चिलीको तटीय क्षेत्रमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी पाँच जनाको ज्यान जानुको साथै भारी क्षति भएको भएको जनाइएको छ ।
‘हाम्रीले सुनामी चेतावनीलाई रद्द गरिसकेका छौँ, देशको कुनै तटीय क्षेत्रमा पनि सुनामीको कुनै समाचार प्राप्त नभएको हुनाले सुनामी चेतावनी रद्द गरिएको हो’ सो संस्थाका अधिकारी डिआना रहायु बेलान्डारी सिन्ह्वा समाचार समितिलाई जनाए ।
चिलीमा आएको भूकम्पको धक्काका कारण इन्डोनेसियामा सानो मात्रामा सुनामीको सम्भावना रहेको भन्दै समुद्री तटीय क्षेत्रका नागरिकलाई सचेत बनाइएको थियो ।
विहीबार बिहानतिर करिब १.६ फिटसम्म उचाइको सुनामी इन्डोनेसियाली समुद्रमा आउनसक्ने त्यहाँको प्राकृतिक प्रकोपसम्बन्धी निकायले जानकारी दिएको थियो । प्रकृतिक प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वाे नुगोरोले उक्त जानकारी दिएका थिए ।
मंगलबार रातितिर चिलीमा आएको सो भूकम्पले इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रहरुमा सुनामीको धक्का पठाउन सक्ने अनुमान सो निकायले गरेको हो ।
प्रवक्ता सुतोपोले भनेका छन्, ‘सानो तिनो सुनामी विहीबार बिहान करिब पाँच बजेतिर आउनसक्ने अनुमान गरिएको थियो ।’ रासस÷सिन्ह्वा÷एएफपी