
काठमाण्डु, १ माघ – माघे संक्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङमा आज ६५ हला गोरु जुधाइँदै छ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा गोरु जुधाउने पर्व मनाइन्छ ।
यस वर्ष नुवाकोटको बेत्रावती, तारुका र घले गाउँमा ४७ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा १८ हल गोरु जुधाउनको लागि दर्ता भएका रसुवा–नुवाकोट पर्यटन समाजले जनाएको छ ।
तारुका गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम पनि हुँदैछन् ।
तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो पर्व हो ।
तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाण्डु, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गरेका छन् ।
प्रतियोगितामा पहिलो हुने गोरुधनीलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र सान्त्वना स्वरुप ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।