
क्वालालम्पुर, १० चैत – दक्षिण कोरियाको राजधानी सोलका लागि सोमबार बिहान उडेको मलेसियाको विमान हङकङ पुगेको छ । उक्त जहाजमा खराबी देखिएपछि त्यसतर्फ मोडिएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार सो विमानमा विद्युतीय खराबी उत्पन्न भएको थियो ।
सोमबार बिहान सो विमान मलेसियाको क्वालालम्पुर शहरबाट दक्षिण कोरियाको सोलका लागि उडेको थियो । उड्डयन अधिकारीहरुले विमानमा विद्युतीय आपूर्तिमा खराबी देखिको बताएका छन् ।
तरपनि विमानको अवस्था भने ठीक रहेको छ । हङकङको विमानस्थलमा सकुशल विमान अवतरण गराइएको अधिकारीरुले जनाएका छन् ।
विमानमा रहेका यात्रुहरुको अवस्था सामान्य रहेको छ ।
उनीहरुलाई अर्काे विमानमार्फत सोल ल्याउने तयारी गरिएको छ । सो विमानमा २७१ जना यात्रु रहेका थिए । हङ्कङ विमानस्थलका अधिकारीहरुले सो विमानको अवस्था पनि अहिले सामान्य रहेको जनाएका छन् ।
मलेसियाको एक विमान यही मार्च ८ को विहानदेखि हराइरहेको छ । अहिलेसम्म पनि सो विमानको बारेमा केही पत्ता लागेको छैन । चीनका लागि क्वालालम्पुरबाटै उडेको मलेसियाली एयरलाइन्सको विमान भियतनामबाट हराएपछि सोही विमानसेवाको अर्काे यो विमानमा पनि खराबी देखिएको समाचार आएको छ ।