एमाले स्थायी कमिटि बैठक बस्दै

काठमाण्डु टुडे २०७० फागुन ४ गते ६:३० मा प्रकाशित

काठमाण्डु, ४ फागुन– गृह मन्त्रालयको विषयलाई लिएर काँग्रेससँगको विवाद चर्किएर गएका बेला एमाले स्थायी कमिटि बैठक आज बस्ने भएको छ ।
uml officeसिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेपछि बस्ने बैठकमा गृह विवाद, संविधानसभा अध्यक्षको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

सरकार गठनअघि भएको सात बुँदे सहमतिअनुसार काँग्रेसले गृह मन्त्रालय दिन अस्वीकार गरेपछि एमालेले सरकारमा नजाने बताउँदै आएको छ । स्रोतका अनुसार बैठकले प्रतिपक्षमा बस्ने निर्णय गर्ने सम्भावना छ । राजधानीमा शनिबार भएको एक कार्यक्रममा सचिव विष्णु पौडेलले गृह मन्त्रालय पाए पनि अब एमाले सरकारमा नजाने बताएका थिए ।

गृह विवादसँगै प्रधानमन्त्री सुशील कोइराला माओवादीतिर  नजिकिएपछि एमाले शसंकित बनेको छ । प्रधानमन्त्री कोइरालाले हिजो एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटी एमाले पछि हटे सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले भने भरसक एमालेसँगको सहमतिमै सरकारलाई पूर्णता दिन आग्रह गर्दै मुलुक संकटमा पर्ने अवस्था आए बाहिरै बसेर सरकारलाई समर्थन गर्ने आश्वासन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us