काठमाण्डु, ३ फागुन – एकीकृत माओवादीका प्रवक्त दीनानाथ शर्माले कांग्रेस र एमालेको अहिलेको झगडा कुकुर र बिरालोका जस्तो भएको बताएका छन् ।
राष्ट्रलाई बन्धक बनाउने गरी दुईदलबीच भएको झगडा खेदजनक भएको उनले बताए ।
‘पहिलो र दोस्रो शक्ति सत्तामा जाने कहिँ नभएको जात्रा हाम्रो देशमा भएको छ,’ शर्माले भने, ‘सत्ताकै लागि दुईदलबीच लुछाचुँडी हुनु खेदजनक छ ।’
एमाओवादीले शर्मालाई प्रवक्ता तोकेपछिको पहिलो पत्रकार सम्मेलनमा उनले कुर्सीकै लागि दलहरु झगडा गर्नु राम्रो नभएको भन्दै त्यसो नगर्न आग्रह समेत गरे ।
अर्को प्रसंगमा माओवादी प्रवक्ता शर्माले यसअघि पनि सहमतिकै आधारमा तेस्रो दलले सभामुख पाएको भन्दै अहिले पनि एमाओवादीले उक्त पद पाउनुपर्ने बताए ।
उनले यसका लागि संसदमा आवाज उठाउने बताए ।
यसअघि अग्नीप्रसाद सापकोटा एमाओवादी प्रवक्ता थिए । शनिबारको पत्रकार सम्मेलनमा दुवै नेता उपस्थित भएका थिए ।